काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।
गोलाप्रथाद्वारा तोकिएको पेसी लगातार दुई दिनसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा आइतबार र सोमबार पेसी परेको थियो।
न्यायाधीश रेग्मीका दाजु माधव रेग्मी लोकसेवा आयोगका अध्यक्ष भएकाले उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।
लोकसेवाले यसअघि प्रहरीको वढुवाविरुद्ध गरेको पुनरावेदन खारेज गर्ने निर्णय गरेको थियो। त्यस्तै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ।
जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए। चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएकै दिन उनीहरुले एआईजीको फुलीसमेत लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।