काठमाडौं– नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना बिहान ९ बजेदेखिसुरु हुने भएको छ।
देशका ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको बताउँदै प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बिहान ९ः०० बजेबाट मतगणना सुरु हुने जानकारी दिइन्।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ।
उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।