काठमाडौं– हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणली र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।
यसैगरी राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै तराई भू–भागहरुमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न सचेतना जरुरी रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।