काठमाडौं– बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
सिन्धुपाल्चोक तातोपानी घर भइ बूढानीलकण्ठ नगरपालिका– ३ मित्रचोकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ४५ वर्षीय पेमा शेर्पाको उद्धार गरिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शेर्पा सोमबार १४:३० बजे घरबाट हराइरहेको भन्ने मौखिक सूचना प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा महानगरीय प्रहरी प्रभात, बूढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।
उक्त टोलीले खोजतलास गर्ने क्रममा बेलुका १७:५५ बजे शेर्पालाई श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्था फेला पारेको परिसरले जनाएको छ।
उनको उद्धारमा प्रहरी प्रधान कार्यालय विपत् व्यवस्थापन महाशाखा, सामाखुशीबाट पनि प्रहरी निरीक्षकको कमाण्डामा १० जनाको प्रहरी टोली खटिएको थियो। उक्त १७ जनाको टोलीले शेर्पालाई अन्दाजी ५० फिट गहिरो इनारमा बेलुका १८:३५ बजे निकालेको हो।
उनलाई उपचारको लागि बूढानीलकण्ठ नगरपालिका– १३ स्थित करुणा अस्पतालमा लगिएको छ। हाल उनी बोल्न सक्ने अवस्थामा रहेको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।