काठमाडौं– आवेदन माग भएको एक वर्षपछि भन्सार एजेन्टको परीक्षा सञ्चालन हुने भएको छ। भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको हो।
परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएपछि परीक्षाको नयाँ मिति तोकिएको हो।
गत वर्ष १६ चैतमा भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त भएको थियो। भन्सार एजेन्टको परीक्षा सोही वर्षको २२ जेठ र २९ माघमा तोके पनि दुवै पटक स्थगित भएका थिए ।
यसअघि २८ फागुनमा परीक्षा तय भए पनि मुद्दाका कारण रोकिएको थियो। ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।