काठमाडौं– परराष्ट्रमन्त्री नारायाण खड्काले नेपाल–भारतबीचको सीमा सम्बन्धी विवादका विषय कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्ने सहमति भएको बताएका छन्।
तीन दिने भारत भ्रमण सकेर नेपाल फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कालपानी, लिपुलेकलगायत क्षेत्रको विवाद अब परराष्ट्रमन्त्री स्तरीय र अन्य संयन्त्रमा छलफल हुने बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट नेपालका लागि लाभदायी भएको समेत बताए। ‘दुई देशका प्रधानमन्त्रीबीचमा बहुमआयमिक विषयमा कुराकानी भयो। उच्च तहमा भ्रमण, स्वास्थ्य र शिक्षा, क्रस बोर्डर कनेक्टिभिटीमा काम गर्ने, रेल निर्माणलगायतमा कुराकानी भयो,’ उनले भने।
नेपालका लागि ३ हवाई रुट जनकपुर र कपिलबस्तुलगायत क्षेत्रमा उपलब्ध गराउने कुरा भएको पनि उनले बताए। यस्तै, जयनगर–जनकपुरको रेल सेवा सुरु भएको, सोलु कोरिडोर र स्वाथ्य चौकी निर्माण गर्ने कुरामा दुई देशबीच सहमति भएको उनले जानकारी दिए।
नेपाल एसबीआई बैंकमार्फत् ‘रुपे एप’ सञ्चालन हुने उनले बताए। नेपाल–भारतबीचमा जलविद्युत्त उत्पादन र प्रशारण लाइन विस्तार गर्ने कुराकानी भएको भन्दै उनले भारतको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।