काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ग्रहण लागिसकेको सूर्यको काम नभएको टिप्पणी गरेका छन्।
पार्टीले कञ्चनपुरको बेदकोटमा आयोजना गरेको भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘ग्रहण लागिसकेको सूर्यको काम छैन। अब कलम चिह्न नै हो चाहिने,’ उनले भने, ‘न्याय, सत्य र भविष्यको कुरा बताउँछ, कलमले नै राम्रो नराम्रो छुट्टाउँछ। कलम चिह्न लिएर जनताको घर घरमा जानुस्।’
उनले चुनावको सन्दर्भमा धेरै तयारी गर्नुपर्ने भन्दै जनताको घर दैलोसम्म गएर कलम चिह्नमा जनमत बनाउन कार्यकर्तालाई निर्देशन दिए।
चुनावको तयारीमा जुट्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए। ‘अन्य दलहरुसँग मिलेर जाने विषयमा पनि कुरा भइरहेको छ। संविधान र गणतन्त्र र समाजवादको यात्रा चाहने एक ठाउँमा उभिने छन्,’ उनले भने, ‘राप्रपा, विदेशीको दलाली गर्नेहरु अर्कोतिर लाग्नेछन्।’
उनले अहिले चुनावमा ध्यान केन्द्रित रहेको भन्दै पार्टीको ध्यान पनि त्यसैमा हुने बताए। ‘चुनावको तयारीमा जुट्नका लागि टोल टोलमा कमिटी बनाउनुपर्छ। त्यस काममा ढिलाइ नहोस्, जनवर्गीय संगठनको पनि कमिटी बनाउनुपर्छ त्यसमा कुनै ढिलाइ नगर्नुस्,’ उनले भने।
केपी ओलीको बिजोग राष्ट्रिय सभामा मै देखिएको टिप्पणी गर्दै नेपालले त्यही भएर उनी अहिले बरबराउन थालेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।