काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रकै नीतिमा देश अघि बढे पनि नेतृत्वमा नआउँदा विकास हुन नसकेको बताएका छन्।
महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘माओवादीकै बलमा देश लोकतान्त्रिक गणतन्त्रमा गयो। देशलाई संकटबाट बचाउने काम पनि माओवादीबाट नै भयो,’ उनले भने, ‘सबै गर्ने माओवादी तर सरकार चलाउने अरु अमाओवादी भए। त्यसैले जसको नीति उसको नेतृत्व आवश्यक हुन्छ।’
उनले अहिले नेकपा माओवादी केन्द्रमा नयाँ जागरण देखिएको भन्दै जनताले देश विकासका लागि माओवादीलाई नै रोज्ने बताए। ‘जनताको आशा अपेक्षा अनुसार विकास सम्बृद्धिको अभियान चलाउन सक्ने विकास गर्ने माओवादी नै हो भन्ने चेतना देशभरी नै पैदा भएको छ,’ उनले भने, ‘अब निर्वाचन आइसकेको छ। तपाईंहरु सबै लाग्नुपर्छ।’
उनले नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारले महत्त्वपूर्ण काम गरेको पनि दाबी गरे। ‘अहिले गठबन्धनको सरकार छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने दिशातर्फ नै सरकार गइरहेको छ,’ उनले भने, ‘यो बीचमा अनेकौं नाममा गठबन्धन भत्काउने पनि प्रयास गरिए। तर, त्यो सम्भव हुन सकेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।