काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ। आज आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भएपनि मुद्दाका विपक्षी र न्यायाधीश रेग्मीबीच नाता सम्बन्धन पर्ने भएकाले हेर्न नमिल्ने भएको हो।
रिटमा लोक सेवा आयोगका अध्यक्षलाई पनि विपक्षी बनाइएको छ। आयोगका अध्यक्ष माधव रेग्मी र न्यायाधीश कुमार रेग्मी दाजुभाइ हुन्। त्यसकारण यो मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो।
जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा ती डीआईजीले उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बुधबार बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै बिहीबार सरकारले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
बढुवा भएका पन्त, सिंह र धानुकले सोही दिन फुली समेत लगाएर पदभार ग्रहण गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।