काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा तीनथरिका कम्युनिष्ट रहेको बताएका छन्। उनका अनुसार एक, दार्शनिक आधार भएका, दुई, प्रगतिशील र तीन, राजनीतिक रहेका छन्। उनले नेकपा एमालेमा समाहित ठूलो संख्या दोस्रो प्रकारको रहेको बताएका छन्।
उनले वास्तविक कम्युनिष्ट दार्शनिक धरातल बुझेर द्वन्द्वात्मक भौतिकवाद बुझेर अनुशरण गर्नेहरु भएपनि त्यो संख्या सानो रहेको बताए।
उनले दोस्रो प्रकारको कम्युनिष्टको संख्या बढी रहेको बताउँदै त्यसको व्याख्यासमेत गरेका छन्। उनले भने, 'दार्शनिक आधार भएका वास्तविक कम्युनिष्ट हुन्। तर त्यो संख्या ज्यादै थोरै भेटिन्छ।'
उनले 'समृद्ध नेपाल, सुखी नेपाली' चाहनेहरु नै कम्युनिष्ट रहेको बताउँदै उनीहरुलाई 'प्रगतिशील कम्युनिष्ट'मा राखेका छन्। उनी भन्छन्, 'विचार फुलेका कम्युनिष्ट तिनै हुन्। उनीहरु सामाजिक न्याय, समानतासहितको समृद्धिसँग सहमत छन्। ती कम्युनिष्टहरु आमरुप आजको कम्युनिष्ट शक्ति हो।'
उनले कम्युनिष्टको परिभाषा फराकिलो पार्दै कम्युनिज्म नबुझेपनि देशलाई माया गर्ने, भौगोलिक हित चाहने, राष्ट्रिय अखण्डता चिताउने, देशमा सुशासन चिताउने र राज्य सेवामुखी होस् भन्ने चाहने कम्युनिष्ट रहेको बताए।
तेस्रो प्रकारका कम्युनिष्टको नाम उनले 'राजनीतिक कम्युनिष्ट' दिए। उनीहरुको स्वभाव र चरित्रको वर्णन गर्दै भने, 'राजनीतिक कम्युनिष्टहरु मानसम्मान पुगेन भने आफ्नै पार्टी तहशनहश पार्न पछि पर्दैनन्। उनीहरुले नाफा नोक्सानको राजनीति गर्छन्।'
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीतर्फ लक्षित गर्नै यस्ता प्रकारका कम्युनिष्टको संख्या पनि निकै ठूलो रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।