काठमाडौं– वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले आहुतिलाई महासचिव चयन गरेको छ। १७ गतेदेखि काठमाडौंमा भेला सुरु भएको थियो। भेलाले विभिन्न प्रतिवेदन र समसामयिक प्रतिवेदन पनि पारित गरेको छ।
भेलामा आहुतिले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै, जागृत रायमाझीले विधान प्रस्ताव र धनकुमारी सुनारले आर्थिक प्रतिवेदन पेश गरेका थिए। त्यसमाथि ९ वटा समूह बनाएर छलफल गरिएको थियो। त्यसमाथि उठेका प्रश्नको जवाफ दिएपछि ती प्रतिवेदनहरु पारित गरिएका थिए।
त्यस्तै, मदन प्रभातले आठ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई पनि पारित गरिएको छ। 'सो प्रस्तावमा एमसीसीको विरुद्धमा साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गरेर संघर्ष गर्ने कुरा, निर्वाचनमा भाग नलिने र बहिस्कार गर्ने कुरा, दलाल संसदीय व्यवस्थाको भण्डाफोर चलाउने र आम जनतामा संसदीय व्यवस्थाले लादेको संकटको विषयमा सचेतना अभियान चलाउने भन्ने लगायतका ८ वटा प्रस्ताव त्यसमा छन्', प्रभातले भने।
१९ गतेको बैठकमा केन्द्रीय समिति सदस्यको प्यानल प्रस्तुत गरिएको थियो। केन्द्रीय समितिमा ९९ जना सदस्य रहने व्यवस्था छ। एक तिहाइ सचिवालय सदस्य हुन्छन्। एक जना प्रवक्ता हुनेछन्। प्रवक्ता पछि तोकिने छ। केन्द्रीय समितिमा ४० प्रतिशत महिला अनिवार्य गरिएको छ। करिब ६५ प्रतिशत युवाहरुको सहभागिता रहेको केन्द्रीय सदस्य मदन प्रभातले जानकारी दिए। 'केन्द्रीय समितिमा केही महिला सदस्य थप्न बाँकी छ', उनले भने।
त्यस्तै, भेलाले ९० वर्षीय नन्दन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय प्रबुद्ध समिति गठन गरेको छ। अहिले समितिका अन्य सदस्यहरुमा डा शिवशंकर यादव, हरिदेव ठाकुर र रोहित हिङनाम निर्वाचित भएका छन्। थप सदस्य पछि थपिनेछ। यही समितिलाई सदस्य थप्ने अधिकार पनि दिइएको छ।
'नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान दिएका, तर अहिले सक्रिय ढंगले देश दौडाहमा निस्किन नसक्ने नेताहरु हुनुहुन्छ, उहाँहरु यो समितिमा रहनुहुन्छ। यो अलि कार्यकारी खालको हुन्छ र शक्तिशाली खालको हुन्छ', केन्द्रीय सदस्य प्रभातले भने।
उनका अनुसार, प्रबुद्ध समितिलाई 'भिटो' प्रयोग गर्नसक्ने अधिकार पनि हुन्छ। 'केन्द्रीय समितिले गरेका निर्णयलाई रोक्न सक्ने अधिकार समेत सो समितिलाई हुन्छ। यसले केन्द्रीय समिति बराबरकै हैसियत राख्छ', उनले भने, 'केन्द्रीय समितिले गरेका कतिपय निर्णय प्रबुद्ध समितिलाई बेठीक लाग्यो भने त्यसलाई उसले 'भिटो' प्रयोग गरेर कार्यान्वयनमा रोक लगाउन सक्छ। र केन्द्रीय समितिको बैठक बोलाएर पुनर्विचार गर भन्न सक्छ। पुनर्विचार गर्दा पनि प्रबुद्ध समितिलाई चित्त बुझेन भने उसले राष्ट्रिय भेला बोलाएर चित्त नबुझेको विषयमा आम पार्टी पंक्तिको राय लिएर केन्द्रीय समितिलाई निर्देशन गर्न सक्छ।'
प्रबुद्ध समूहलाई केन्द्रीय समितिले निर्वाचित गर्न नसक्ने र राष्ट्रिय भेला, सम्मेलन र महाधिवेशनबाटै निर्वाचित हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।