काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसद र एमाले विभाजन भएर निर्माण भएको एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सुरु हुने भएको छ।
मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेको छ। निवेदन अस्वीकारसँगै पालो आएमा मुद्दामा सुनुवाइ सुरु हुनेछ। उक्त मुद्दा आइतबार न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा छ।
यसअघि सर्वोच्चले अन्तिम सुनुवाइका लागि मिति तोकेको थियो। सर्वोच्चमा गोलाप्रथाबाट उक्त मुद्दा दुई न्यायाधीशको इजलासमा पेसी तोकिएको हो।
यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको थियो।
एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।
ओलीले एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख समेतलाई विपक्षी बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।