काठमाडौं– लामो समयदेखि हल्लामा सीमित भएको बलिउडका कलाकार रणवीर कपुर र आलिया भट्टको विवाह अन्ततः वास्तविक हुने भएको छ। रणवीर र अलियाको विवाहको विषयलाई लिएर लामो समयदेखि चर्चा भइरहेको थियो। तर, औपचारिक रुपमा कसैले पनि यसलाई पुष्टि गरेका थिएनन्। अहिले भने उनीहरु दुवैले यसै महिना (अप्रिल)मा विवाह गर्ने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आफ्नो व्यक्तिगत जीवनलाई चर्चामा राख्न नरुचाउने यी दुई कलाकारले आफ्नो विवाह अप्रिलमा गर्ने भएका हुन्। उनीहरुको विवाह निकट साथीभाइ र आफन्तको उपस्थितिमा हुने भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको विवाह मुम्बईमा हुनेछ। रणवीर आफैंले विवाहका लागि आफ्नो पूर्खाहरुको घर आरके हाउस छानेका छन्। रणवीरका बुबाआमा ऋषि कपुर र नितु कपुरको विवाह पनि २० जनवरी १९८० मा यहीँ भएको थियो। जसकारण रणवीरले पनि आलियासँग मुम्बईको चेंबुरस्थित आरके हाउसमा नै विवाह गर्न लागेका हुन्।
रिपोर्टका अनुसार उनीहरुको विवाहमा ४५० जना पाहुना हुनेछन्। विवाहका लागि उनीहरुले ‘सादी स्क्वाड विडिङ प्लानर्स’लाई जिम्मेवारी दिएका छन्। तर, हालसम्म उनीहरुको विवाह हुने निश्चित मिति भने सार्वजनिक भएको छैन।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका आलिया र रणवीर बलिउडकै निकै चर्चित जोडीहरुमध्येमा पर्छन्। उनीहरु दुवैले अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ पनि छिट्टै प्रदर्शनमा आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।