काठमाडौं– युक्रेनी हेलिकोप्टरले रुसको पश्चिमी सहर बेल्गोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ।
रुसको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनले रुसभित्र रहेको तेल भण्डार केन्द्रमा आक्रमण गरेको दाबी गरेका हुन्। रुसले युक्रनेमाथि आक्रमण जारी राखेको बेला युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस्तो आक्रमणले वार्ताका लागि अनुकूल अवस्था नबनाउने बताएका छन्।
इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार पेस्कोभले नियमति पत्रकार भेटघाटमा यस्तो आक्रमणले दुई देशबीचको द्वन्द्व बढाउने बताए।
उनले भने, ‘अवश्य पनि, यो वार्तालापको वातावरण कायम राख्न मद्दत गर्ने कुरा होइन।’ प्रशासनले बेलग्रेडमा इन्धन आपूर्ति कायम राख्न हरेक प्रयास गरिरहेको पेस्कोभले जानकारी दिए।
रुसले एक महिनाभन्दा बढी समययता युक्रेनमै घुसेर आक्रमण गरिरहेको छ। रुसी आक्रमणबाट युक्रेनलाई खरबौं डलरको क्षति भएको छ। तर, पटक पटक गरिएको वार्तामा रुसले युक्रेनमा युद्धविराम गर्न अस्वीकार गर्दै आएको छ।
यही समयमा युक्रेनले रुसमाथि आक्रमण गरेको दाबी गरिएको हो। गभर्नर ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्,‘युक्रेनी सेनाका दुई हेलिकोप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेका थिए। ती हेलिकोप्टरबाट हवाई आक्रमण हुँदा पेट्रोल डिपोमा आगो लागेको थियो।’
उनले तेल डिपोमा काम गर्ने केही कर्मचारीलाई सामान्य चोट लागेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।