काठमाडौं– युक्रेनी हेलिकोप्टरले रुसको पश्चिमी सहर बेल्गोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ।
रुसको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले युक्रेनले रुसभित्र रहेको तेल भण्डार केन्द्रमा आक्रमण गरेको दाबी गरेका हुन्। रुसले युक्रनेमाथि आक्रमण जारी राखेको बेला युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको हो।
युक्रेनी हेलिकोप्टरले डिपोमा मिसाइल आक्रमण गरेको भिडियो रुसी सरकारी सञ्चार माध्यमले सावर्जनिक गरेको छ। आक्रमण दुईवटा यु्क्रेनी हेलिकोप्टर प्रयोग भएको थियो। ती हेलिकोप्टर निकै कम उचाइमा उडेका थिए।
गभर्नर ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्,‘युक्रेनी सेनाका दुई हेलिकोप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेका थिए। ती हेलिकोप्टरबाट हवाई आक्रमण हुँदा पेट्रोल डिपोमा आगो लागेको थियो।’
रुसले एक महिनाभन्दा बढी समययता युक्रेनमै घुसेर आक्रमण गरिरहेको छ। रुसी आक्रमणबाट युक्रेनलाई खरबौं डलरको क्षति भएको छ।
उनले तेल डिपोमा काम गर्ने केही कर्मचारीलाई सामान्य चोट लागेको पनि बताए। अधिकारीहरूले मानिसहरूलाई त्यहाँबाट बाहिर निकालेर नजिकैको क्षेत्रमा लगिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।