काठमाडौं– साइबर अपराधसम्बन्धी चलचित्र ‘अनुष्का’ सार्वजनिक भएको छ। वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)को निर्माणमा रहेको यो चलचित्र बिहीबार उनीहरुकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
यसअघि ‘कर्कलो कोक्याउला’ नामक गीतमार्फत मह जोडीले चेलिबेटी बेचबिखनको विषयमा काम गरेका थिए। उक्त गीतले दर्शक तथा स्रोतामाझमा राम्रो चर्चा कमाएको थियो।
त्यसपछि उनीहरुले विदेशबाट गैरकानुनी रुपमा पैसा पठाइने ‘हुण्डी’को विषयमा आधारित छोटो चलचित्र ‘हुण्डी’ पनि ल्याएका थिए। ‘हुण्डी’ सार्वजनिक भएको तीन सातापछि साइबर अपराध र अनलाइन सुरक्षाको विषयमा आधारित ‘अनुष्का’ सार्वजनिक भएको छ।
उक्त फिल्ममा मह जोडीसँगै हिउँवाला गौतम, प्रदीप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेललगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको निर्देशन मह जोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन्। फिल्मको कथा आचार्यकै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।