काठमाडौं– ‘लाइट्स क्यामेरा एक्सन’
पाचौं नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ–२०२२)को फिल्मकर्मका यीनै शब्दहरुसहित बिहीबारबाट औपचारिक रुपमा सुरुआत भएको छ। बिहीबार राष्ट्रिय सभागृहमा सुरु भएको कार्यक्रममा कार्यक्रमका चार अतिथिहरुले फिल्मकर्मका शब्दहरु भन्दै औपचारिक रुपमा कार्यक्रमको सुरुआत गरेका छन्।
कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज, स्वतन्त्र फिल्मकर्मी सुदीप्तो आचार्य र महोत्सवका अध्यक्ष केपी पाठकले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले कार्यक्रममा बोल्दै मौलिक र उत्कृष्ट कथावस्तुमा बनेका फिल्महरुलाई सघाउन सरकार तयार रहेको बताए। उनले विकास बोर्डमार्फत् स्टोरी बैंकमा आउने यस्ता फिलमहरुलाई सघाउन नियमावली बनेको र हरेक वर्ष पाँच फिल्मलाई पुरस्कृत गरिने बताए। उनले फिल्म निर्माताले नै बनाउनुपर्ने, तर त्यसमा सरकारले सघाउने बताएका थिए।
त्यस्तै, कार्यक्रममा काठमाडौं महानगरका मेयर शाक्यले महानगरले फिल्मकर्मसँग जोडिएको र महोत्सवमा आउने विदेशी पाहुनालाई आफूहरुले आतिथ्यता दिने बताएका छन्। कार्यक्रममा युरोपेली युनियनकी राजदूत डेप्रेजले पछिल्लो समय नेपालमा फिल्म संस्कृतिको विकास भइरहेको बताउँदै यसको प्रशंसा गरेकी थिइन्।
पहिलो दिन कार्यक्रमको औपचारिक उद्घाटनसँगै डा पुरु लम्सालको निर्देसनमा बनेको ४६ मिनेटको वृत्तचित्र पनि प्रदर्शन भएको थियो। लम्सालको निर्देशनमा बनेको ‘गोरु पर्व’को प्रदर्शन भएको हो। उक्त वृत्तचित्रमा नुवाकोटको तारुकामा मनाउँदै आइएको गोरु जुधाउने पर्वको विषयलाई समेटिएको छ।
बिहिबारबाट सुरु भएको महोत्सव आगामी पाँच दिनसम्म चल्ने छ। यो समयमा महोत्सवमा ३९ देशबाट प्राप्त ८९ फिल्महरुको प्रदर्शन छन् भने चलचित्र क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल र चलचित्रका प्राविधिक पक्षहरुको बारेमा मास्टरक्लास पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।