काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध तीन डीआईजीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ।
तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च भर्खरै रिट दर्ता गराएका हुन्।
डीआईजी अर्यालले यसअघि नेपाल लाइभसँग कुरा गर्दै अदालत जाने बताएका थिए।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो।
बुधबार साँझ उजुरी सुन्ने समितिले सदर गरेपछि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीनै जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।