काठमाडौं– विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शनको १३औं दिनमा २ सय करोड क्लबमा समावेश भएको छ।
११ मार्चमा प्रदर्शनमा आएको उक्त फिल्मले बुधबारसम्म २ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।
अनुपम खेर स्टारर फिल्ममा कश्मीरी पण्डितहरुको पीडालाई देखाइएको छ। फिल्म प्रदर्शन भएसँगै विस्तारै बक्सअफिसमा आम्दानी बढाइरहेको फिल्मले पछिल्लो साताको प्रदर्शनमा निकै राम्रो व्यापार गरेको छ। फिल्मले बुधबार मात्रै १० करोड ३ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।
पहिलो साता ९७ करोड ३० लाख भारतीय रुपैयाँको आम्दानी गरेको फिल्मले दोस्रो हप्ताको छैटौं दिनसम्ममा २ सय करोडभन्दा धेरै आम्दानी गरेको हो।
फिल्ममा अनुपम खेरसँगै मिथुन चक्रवर्ती, दर्शन कुमार र पल्लवी जोशीको मुख्य अभिनय छ। त्यस्तै, कलाकारहरु चिनमय मन्डेल्कर, प्रकाश बेलावडी, पुनित इस्सर, मृणल कुल्कर्नीलगायतका कलाकारको अभिनय फिलममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।