काठमाडौं– ११ मार्चमा सिनेमा हलमा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘द कश्मीर फाइल्स’ले निरन्तर रेकर्डहरु तोडिरहेको छ। बक्स अफिसमा कमाईको पक्षबाट फिल्मले गरेको प्रगति अन्य फिल्मको तुलनामा निकै अघि देखिएको छ।
प्रदर्शनको ११औं दिनसमम आइपुग्दा फिल्मले कोरोना महामारीपछि प्रदर्शनमा आएका ठूला बजेट फिल्म ‘सूर्यवंशी’ तथा ‘स्पाइडरमेन’लाई पनि पछि पारेको छ।
विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्मलाई भारतका फिल्म विश्लेषक तरण आदर्शले ऐतिहासिक, ‘अल टायम ब्लकबस्टर’ र ‘सेन्सेनल’ बताएका छन्।
११ मार्चमा प्रदर्शनमा आएको फिल्मले पहिलो सातामा नै ९७ करोड ३० लाख भारतीय रुपैयाँको कमाई गरेको थियो। हालसम्म फिल्मले १७९ करोड ८५ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ। यो रकम यसअघि प्रदर्शनमा आएका ‘सूर्यवंशी’ र ‘स्पाइडरमेन’भन्दा निकै धेरै हो।
कोरोना महामारीपछि प्रदर्शनमा आएको अक्षय कुमार अभिनित ‘सूर्यवंशी’ले दोस्रो हप्ताको प्रदर्शनपश्चात १६२ करोड ५० लाख भारतीय रुपैयाँको आम्दानी गरेको थियो।
विश्लेषक आदर्शले ‘द कश्मीर फाइल्स’ले दोस्रो हप्ताको अन्त्यसम्ममा २ सय करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गर्ने बताएका छन्। फिल्मले दैनिक औसत २० प्रतिशतभन्दा धेरैको आम्दानी गरिरहेको छ।
करिब १५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको फिल्मको आम्दानी भने निकै धेरै रहेको छ। सुरुवातमा ६ सय स्क्रिनबाट प्रदर्शन सुरु गरेको फिल्मको चर्चा बढेसँगै हाल भारतभर मात्रै ४ हजारभन्दा धेरै स्क्रिनमा प्रदर्शन गरिएको छ।
फिल्ममा अनुपम खेर मुख्य भूमिकामा छन्। त्यस्तै, मिथुन चक्रवर्ती, दर्शक कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णीलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ। ‘द कश्मीर फाइल्स’मा कश्मीरी पण्डितहरुको विस्थापनको कथालाई देखाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।