युक्रेनमाथिको हमलापछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन्। जानकारहरूका अनुसार पश्चिमा देशहरूको यो प्रतिबन्धले रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने छ।
अन्तर्राष्ट्रिय बजारमा जारी गरिएको दुई ‘बन्ड्स’का लगानीकर्ताले आगामी बुधबार ११७ मिलियन डलर ब्याज भुक्तान गर्नुपर्ने छ। यी बन्ड्स डलरका लागि जारी गरिएको हो। तर, रुसको ६३० बिलियन डलर विदेशी मुद्रा भण्डार फ्रिज गरिएको छ। ऋण मूल्यांकन एजेन्सीहरूले पनि चेतावनी दिएका छन् कि, रुसलाई आफ्नो ऋण तिर्न भाग्यको मात्र भर हुनेछ। अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार रुस ऋण चुक्ता गर्न नसक्ने अवस्थाबारे चिन्तित छ, तर यसैले विश्वभर संकट उत्पन हुने कुरा स्वीकार गर्न सकिँदैन।
रुस सरकार र गजप्रोम, ब्युकआइल तथा स्वेरबैंक जस्ता सरकारी कम्पनीमा विदेशी लगानीकर्ताको १५० अर्ब डलर ऋण छ। यी अधिकांश ऋणको दायित्व डलर वा युरोमा छ। किनकि, पश्चिमाहरूको प्रतिबन्धका कारण रुसका कारोबारी संस्थानले विदेशमा मौजुदा आफ्नो डलर वा युरोको खाता प्रयोग गर्न पाउने छैनन्। यदि, रुसले समयमै ऋण तिर्न असफल भयो भने यो सन् १९९८ पछिको पहिलो ठूलो संकट हुनेछ। विदेशी मुद्रामा लिएको ऋण चुत्ता गर्ने मामलामा सन् १९१७ को क्रान्तिपछि रुस पहिलो पटक संकटमा जान लागेको हो। तत्कालीन समयमा नयाँ बोल्सेभिक सरकारले अघिल्लो वर्षको ऋण तिर्न अस्वीकार गरेको थियो ।
यदि रुसले रुबलमा भुक्तानी गरे के हुन्छ?
रुसको विदेश मन्त्रालयले भनेको छ कि, उसलाई डलर वा युरोमा भुक्तानी गर्नबाट रोकियो भने अन्तर्राष्ट्रिय लगानीकर्तालाई रुबलले भुक्तानी गर्ने छ। तर, भुक्तान गर्नुपर्ने डलरमा जारी भएका दुई वटा ऋणपत्रमा अन्य मुद्रामा पैसा दिने व्यवस्था नभएकाले समस्या हुने देखिएको छ। रूसका अरु ऋण सम्झौतामा अन्य मुद्राहरूमा भुक्तानी गर्न सकिने प्रावधान छ। यसो भए ऋणको भुक्तानीमा रूबल प्रयोग गर्न सकिन्छ। तर, लगानीकर्ताहरूले अपेक्षा गरेको डलर वा युरोको समान मूल्यको साथ रुबलमा भुक्तानी गरिन्छ कि गर्न सकिँदैन भन्ने विषय प्रमुख हुनेछ।
रुसमा लगानीकर्ताहरूले अहिले आफ्नो लगानीको मूल्य गिरावट भएको पाइरहेका छन्। समस्या यो छ कि, रुसको वित्तीय अवस्था तीव्र रूपमा खस्किँदा केही मानिसले आफ्नो लगानी बेच्ने मौकासमेत पाएका छैनन्। क्रेडिट रेटिङ एजेन्सी मुडीका अनुसार २१ अंकको रेटिङ स्केलले लगानीका हिसाबले देश कति सुरक्षित छ भन्ने देखाउँछ। रुस यो मापनमा तल्लोबाट दोस्रो स्थानमा आएको छ र अझै तल जान सक्ने अनुमान गरिएको छ।
मुडीका प्रमुख क्रेडिट अफिसर कोलिन एलिसले बीबीसीलाई भने, ‘रुसले ऋण नतिर्ने हाम्रो अनुमान मात्र होइन, लगानीकर्ताहरूलाई उनीहरूले कति गुमाउन सक्छ भनेर पनि बताइरहेका छौं। लगानीकर्ताले आफ्नो ३५ देखि ६५ प्रतिशतसम्म गुमाउन सक्छन्।’ आधिकारीक रुपमा कर्जा भुक्तानी नगर्दाको समस्या स्वरूप लगानीकर्ताले दाबी सुरु गर्छन्। यो ‘क्रेडिट स्वाप’ले इन्सुरेन्सले जस्तै गरी काम गर्छ। कुनै पनि कम्पनी वा देशको असफलताको कारणबाट नोक्सानको लागि क्षतिपूर्ति गर्न सकुन् भनेर ऋणदाताहरूले क्रेडिट स्वाप अग्रिम खरीद गर्छन्।
विश्व अर्थव्यवस्थामा के अर्थ राख्छ?
पछिल्लो पटक रुस सन् १९९८मा ऋण तिर्न असफल भएको थियो। विश्व वित्तीय बजारमा त्यति बेला यसले हलचल ल्याएको थियो। क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री विलियम जैकसनका अनुसार अहिले यदि रुस संकटमा जान्छ भने त्यसको असर पक्कै ठूलो हुन्छ। तर, यसको वास्तविक असर अरु विश्वलाई सायदै होला।
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ का लागि विश्व अर्थव्यवस्थाको प्रगति ४.४ हुने पूर्वानुमान थियो। तर, युद्धका कारण अब प्रगति अंक कम हुनेछ। आईएमएफका प्रमुख क्रिस्टेलीना जोर्जिवाले पनि स्वीकार गरे कि रुस संकटमा हुदैमा विश्वभरको अर्थव्यवस्थामा व्यापक असर पर्ने छैन। तर उनले रुसमाथि लगाइएको प्रतिबन्धले त्यहाँको अर्थव्यवस्थामा ठूलो गिरावट ल्याउने चेतावनी दिए। विश्वभर खाद्यपदार्थ र उर्जाको मूल्यमा भने वृद्धि हुने छ।
रुसका कम्पनीको ऋण संकट कति ठूलो हुने छ र यसको असर त्यहाँका लगानीकर्तामाथि कति हुनेछ भन्ने अहिलेसम्म अज्ञात नै छ। त्यस्तै, ऋण तिर्न नसक्ने अवस्थाको असर रुसमा के हुन्छ भन्ने पनि भविष्यको कुरा हो। रुसको केन्द्रीय बैंकले महङ्गी रोक्नका लागि ब्याज भारी मात्रमा वृद्धि गरेको छ। रुस यो समय जुन वित्तीय समस्यामा छ, यसले ऋण नर्तिने अवस्था झनै बढाउँदै लैजाने छ।
युक्रेनमाथि आक्रमण हुनुअघि रुस ऋण चुक्ता गर्ने हिसाबले सबैभन्दा भरपर्दो देशहरूमध्ये थियो। त्यहाँको ऋण धेरै थिएन। युक्रेन आक्रमणपछि अहिले स्थिति नाटकीय रूपमा परिवर्तन भएको छ।
रुस छाड्ने विदेशी कम्पनीहरूको संख्या ठूलो भइसकेको छ। रुबल र अर्थतन्त्र बचाउन रुसले पैसा बहिर्गमनमा कडा नियमहरू लगाएको छ। तर, प्रतिबन्धका कारण यो वर्ष रुसको अर्थतन्त्र ७ प्रतिशतले संकुचित हुन सक्ने अनुमान सार्वजनिक भएका छन्। युक्रेन आक्रमण गर्नुअघि गएको फ्रेब्रुअरीमा त्यहाँ मुद्रा स्फीति दर ९.१५ प्रतिशतको उच्च विन्दुमा थियो। यो वर्ष अझै बढ्न सक्ने अनुमान गरिएको थियो। रुसको केन्द्रीय बैंकले यसअघि नै कर्जाको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ।
-बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।