काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा गठबन्धनदलहरुले वेथिति गर्न सक्ने भन्दै कार्यकर्तालाई जबरजस्त तयार भएर खटिन निर्देशन दिएका छन्।
नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘चुनाव स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनुपर्दछ। हलो जोत्ने मानिसले हातमा किताब लिएर होइन लौरो लिएर जोत्छ। गठबन्धनवालाले हामी जस्तो सदाचार इमान नैतिकता जस्ता कुरा बुझ्दैन,’ उनले भने ,‘यिनका बेथिति रोक्न जबजस्र्त तयारी गर्नुपर्छ। बाकस आँखाबाट ओझेल हुन दिनु हुँदैन।’
उनले आफू अहिलेको गठबन्धनलाई ठेगान लगाउन पूर्ण रुपमा स्वस्थ्य रहेको भन्दै आफू नथाक्ने प्रष्ट पारे।
‘सिरहा, चितवन लगायतका ठाउँमा गरेको जस्तै केहीले त्यसै गरी चुनाव जित्छु भन्ने ठानेका होलान्,’उनले भने,‘जालझेल र तिगडम गरेर चुनाव जित्छु भन्ने कसैले नसोचे हुन्छ।’
उनले कांग्रेसको पछाडि पछाडि कुद्नेहरुसँग एकताको कुरा गर्ने काम नै नभएको बताए।
‘अहिले दुई थरी मात्रै शक्ति छन् नेपालमा, बीचमा कोही छैन। एउटा परमादेशवाला गठबन्धन र अर्को जनादेशवाला मात्रै छन्,’उनले भने,‘जनताको भोट बाट होइन षडयन्त्रबाट जित्न खोज्छन्।’
ओलीले कार्यकर्तालाई मतको रक्षा गर्न र मतबृद्धि गर्ने तर्फ ध्यान केन्द्रीत गरेर आ आफ्नो क्षेत्रमा खटिन निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।