काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन्।
नेपाल विश्व सम्बन्ध परिषद्को ७४औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा उनले नेपाल र नेपाली जनताको हित प्रवर्द्धधमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे।
प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे।
यसबाट जलवायु परिवर्तन, खाद्य सुरक्षा, भ्याक्सिन समानता, लोकतन्त्र र सुशासन जस्ता विश्वव्यापी महत्वका मुद्दाहरूमा हाम्रा सिद्धान्तहरू, प्राथमिकताहरू र चासोहरूलाई आवाज उठाउने अवसर प्रदान गरेको उनको भनाइ थियो।
सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकताहरू उल्लेख गरेको जानकारी गराउँदै उनले भने,‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ। साथै उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशिला निर्माण, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय पनि हाम्रा प्राथमिकतामा रहेका छन्।’
उनले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने बताए।
‘सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा सरकारको सर्वोच्च प्राथमिकता र दायित्व हुनेछ। वर्तमान सरकारले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ। हामी हाम्रो भूमि हाम्रा छिमेकी र अन्य देशहरूविरुद्ध कुनै पनि गतिविधिको लागि प्रयोग गर्न अनुमति दिँदैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।