काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेसनमा पक्राउ गरेर भ्रष्टाचार मुद्दा चलाएका २ वडा अध्यक्ष र मालपोतका एक लेखनदासलाई विशेष अदालतले सफाइ दिएको छ।
घुस लिएको दाबीसहित अख्तियारले दायर गरेको आरोपपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै विशेष अदालतले शुक्रबार उनीहरूलाई सफाइ दिएको हो।
सफाइ पाउनेमा रौतहटको रोहणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डे र नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगर छन्।
२०७७ मंसिर २१ गते वडाध्यक्ष पाण्डे सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका अख्तियारले जनाएको थियो। अख्तियारले उनीविरुद्ध २०७७ मंसिर २८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरु रमेशकुमार पौडेल, यमुना भट्टराई, शालिग्राम कोइरालाको इजलासले सफाइ दिने फैसला सुनाएको हो।
त्यस्तै, नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष डिस्वा मगरलाई अख्तियारले २०७६ पुस ४ गते लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर/गोठ प्रमाणित तथा औषधोपचारको सिफारिस गर्ने क्रममा सेवाग्राहीसँग दुई लाख घुस लिएको आरोपमा पक्राउ गरेको थियो। उनीविरुद्ध २०७६ पुस ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
वडाध्यक्ष मगरले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरीलाई आधार बनाएर अख्तियारले स्टिङ अप्रेसन गरेको थियो। वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको थियो।
तर, यो मुद्दामा पनि अभियोग पुष्टि गर्ने आधार र वडाध्यक्षले घुस लिन मञ्जुर गरेको पुष्टि हुन नसकेको भन्दै विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले सफाइ दिएको हो।
सोही इजलासले नवलपरासी रामग्राम नगरपालिका–१४ का स्थानीयवासी लेखनदास यादवलाई पनि सफाइ दिएको छ।
स्टिङ अप्रेसनका मुद्दाहरुमा विशेषले थप प्रमाण र घुस लिएको आरोप लागेका व्यक्तिले लिन मञ्जुर भए/नभएको आशय हेरेर निर्णय लिने गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले स्टिङ अप्रेसन गर्दै मुद्दा दायर गर्नु असंवैधानिक भएको ठहर गरेको थियो। अख्तियारले नै पैसा दिएर कर्मचारीमाथि गर्ने स्टिङ अप्रेसनलाई कानुनले अधिकार नदिने भन्दै आयोगले निर्माण गरेको कार्यविधि समेत सर्वोच्चले खारेज गरेको थियो।
यही फैसलाको आधारमा विशेष अदालतले अख्तियारद्वारा दायर गरेको घुस सम्बन्धी मुद्दामा फैसला सुनाउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।