काठमाडौं– गत फागुन २८ गते दिउँसो ११ बजेतिर संखुवासभाको खाँदबारी नगरपालिका–८ स्थित जंगल नजिक प्रहरीले प्रयोग गर्ने पोशाक फालिएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालयमा पुग्यो।
खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायव निरीक्षक (सई)को दर्ज्यानी चिह्न भएको १ जोर, प्रहरी हवल्दारको दर्ज्यानी चिह्न भएको १ जोर र प्रहरी जवानको २ जोर पोशाक र ४ जोर प्रहरी बुट प्रहरीले फेला पार्यो।
प्रहरीको बर्दी फेला पार्नु अघिल्लो दिनमात्रै खाँदबारी–८ माइती भएकी २६ वर्षीया प्रमिला कम्मर सार्की प्रहरी कार्यालयमा आएर एक घटनाबारे जानकारी गराएकी थिइन्। उनले नचिनेका ४ जना मानिस प्रहरी पोशाकसहित आफ्नो घरमा आएको जानकारी गराएकी थिइन्।
बर्दीमा आएका उनीहरुले प्रमिलालाई ‘हामी प्रहरी कार्यालयबाट आएको तपाईको श्रीमानले आत्महत्या गरेकोले तुरुन्त हिड्नुस्’ भन्दै करीब १०० मिटर टाढा पुर्याएको उनले बताएकी थिइन्।
'त्यसपछि मलाई श्रीमान रमेशकुमार तामाङको जिम्मा लगाएर उनीहरू कहाँ गए। मलाई थाह भएन', प्रमिलाले प्रहरीलाई भनेकी थिइन्।
श्रीमानले रातभरी घर नजिकको जंगलमा कब्जा गरी ज्यानै समेत मार्ने नियतले शारीरिक तथा मानसिक यातना दिएको र आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै प्रमिलाले प्रहरी पोशाक लगाएका ती व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित निवेदन दिएकी थिइन्।
फागुन २९ गते प्रमिलाले ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिइन्। सो कार्यमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा प्रमिलाकै श्रीमान पाँचपखनकै ३४ वर्षीय रमेशकुमार तामाङ र संखुवासभाको पाचखपन नगरपालिका–४ घर भई तुम्लिङटार बस्ने ३० वर्षीय अर्जुन तामाङ (सईको बर्दी लगाउने) छन्।
प्रमिला र रमेशकुमारबीच २०७२ मा प्रेम विवाह भएको थियो। विवाहपश्चात दुवैजना ललितपुरमा र्निचर व्यवसाय गरी बसेका थिए। ५/६ महिना अगााडिबाट उनीरुको मनमुटाव बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गत माघ अन्तिम साता प्रमिला श्रीमानलाई नसोधी माइत गएकी थिइन्। फागुन २१ गते बेलुकाको समयमा काठमाडौंमा रमेशकुमारले सामान्य चिनजान भएका मानिसलाई सँगै राखी आफ्नो पारिवारिक समस्याको सम्बन्धमा जानकारी गराएको र रमेशकुमारले तयार गरेको योजनामा अनुसार घटना भएको संखुसवाभाका इन्स्पेक्टर जीवनकुमार गौतमले बताए।
योजना सफल बनाउन बागबजारस्थित एक टेलर्सबाट नक्कली प्रहरीका पोशाक प्रतिजोर प्रतिदिनको ५ हजारका दरले २ दिनका लागि रमेशकुमारले आफ्नो नागरिकता राखी भाडामा लगेको अनुसन्धानबाट खुलेको छ। फागुन २५ गते रमेशकुमारसहित ४ जना काठमाडौंबाट हिँडी २६ गते खाँदबारी पुगेका थिए।
त्यो रात खाँदबारीको एक होटलमा बास बसी प्रमिलाको माइती घरमा प्रहरीको पोशाक लगाएर चार जना पुगेका थिए। उनीहरुले 'तपाईंको श्रीमानले आत्महत्या गरेका छन्' भनी झुक्याएर बोलाएका थिए। रमेशकुमारको जिम्मा लगाएपश्चात प्रमिलाको घाँटीमा प्लाष्टिकको डोरीले र हातमा तारले बाँधी नियन्त्रणमा राखी यातना दिएको पाइएको प्रहरीले जनाएको छ।
पछि प्रमिला त्यहाँबाट भागेकी थिइन्। घटनामा संलग्न तीन जना भने अहिलेसम्म फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।