काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा जनता खुसी भएको बताएका छन्।
सम्पदा क्षेत्रमा भएको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
मेयर शाक्यले सम्पदा संरक्षणका विषयमा आफ्नो र उपमेयरकाबीचमा सञ्चार माध्यममा आएको जस्तो विवाद नभएको पनि बताए। ‘मिडियाको भित्र कन्टेन ठीकै हुन्छ। हेडलाइनले मात्रै समस्या गरेको हुन्छ,’उनले भने,‘आफ्नो र उपमेयरबीच विवाद देखिएको भनेर सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो होइन।’
राम्रो गरेपछि आफूले गरेको र केही नराम्रो भए मेयरले गरेको भन्नु गलत भएको उनले बताए।
‘हेडलाइनले कहीले काहीँ समस्या ल्याउँछ। मेरो उपमेयर र वडाध्यक्ष कसैसँग विवाद छैन। सहकार्य गरेर नै काम महानगरपालिकाले गरिरहेको छ,’ उनले भने,‘जनताको मनमा बस्ने गरी मेयरले काम गर्ने हो। मैले गरेको कामबाट जनता खुसी छन्।’
उनले राजनीतिक व्यक्तिले नीति बनाउने र अन्य काम कर्मचारीहरुले गर्ने भन्दै जनप्रतिनिधि र कर्मचारीबीच समन्वय भएन भने काम गर्न असहज हुने बताए।
उनले उपमेयर र आफ्नो विषयको विवादबारे एउटै मञ्चमा बहस गर्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।