काठमाडौं- पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक मिलन पाण्डेपक्षले पार्टीका वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही कारयताको परकाष्ठा भएको टिप्पणी गरेको छ।
विवेकशील साझा पार्टीमा विधान विपरीत गठन गरिएको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका वरिष्ठ नेताहरूसहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरिएको समाचारहरूप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको मूलबाटो पक्षधर बताउने पाण्डेपक्षले बताएको छ।
कारबाही पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र भएको उक्त पक्षले एक विज्ञप्तिमार्फत जनाएको छ। पार्टीकै सदस्यहरूबाट अस्वीकृत हुने डरले पटक पटक महाधिवेशन र आन्तरिक लोकतन्त्रबाट भागेर अहिले सर्वोच्चमा अदालत विचाराधीन मुद्दामा पराजित हुने भयले आत्तिएर यस्ता मनगढन्ते निर्णय गर्नु कायरताको पराकाष्ठता भएको पाण्डे पक्षले जनाएको छ।
'रवीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै नै हुनेनैछ। सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथी धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ' पाण्डे पक्षले भनेको छ, 'हामी, पार्टीको विधान र मुलुकको संविधान पक्षधर नेतृत्वहरू मिश्रजीलाई उहाँको जस्तो अवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कारवाहीको नाटक गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्न चाहन्छौँ। हामी पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त छौँ।'
पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको बेला पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, एक जना संस्थापक पुकार बम, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल लगायत केन्द्रीय सदस्यहरु जिम्मेवारीबाट हटाइनुलाई आफूहरुले रवीन्द्र मिश्रको तानाशाही प्रवृत्तिको निरन्तरता र उनको लोकतन्त्र, विधि तथा सामान्य राजनीतिक इमानप्रतिको समेत अनास्थाको रूपमा लिएका लिएको विज्ञप्तिमा जनाइएको छ।
'आफू पार्टीको विचार र विधान विपरीत उल्टो बाटो हिँड्ने र पार्टीभित्र विधिको वकालत गर्ने नेताहरूलाई ‘लेभी नतिरेको’ जस्ता हाँस्यास्पद कारण देखाएर पार्टीबाट लखेट्नुले पुनः रवीन्द्र मिश्रको राजसंस्था मोह र लोकतन्त्र प्रतिको अनास्था तथा नेतृत्वशैलीको असक्षमता छताछुल्ल भएको छ' उक्त पक्षले भनेको छ।
यो कारबाही कुनै नौलो नभएको भन्दै पाण्डे पक्षले समान हैसियतको पार्टी संयोजक, अधिकांश नेताहरूलाई समेत पार्टीबाट निकालेर तथा ‘मार्ग परिवर्तन’ नामको पश्चगमनकारी विचारलाई विगत साथ दिएको आरोप लगाएको छ।
आफ्नै विचार समूहका केही सुधारवादी, समालोचक नेताहरूको फरक मतलाई समेत असहिष्णु तरिकाले अपमान गरेबाट राप्रपासँग आफ्नो सम्भावित एकतामा जान सहज वातावारण बनाउने रवीन्द्र मिश्रको चाहना स्पष्ट हुने उक्तपक्षको दाबी छ।
कारबाही, निष्कासन, धाकधम्कि र षडयन्त्रको पर्याय बनेर वैकल्पिक राजनीतिलाई बदनाम र कमजोर बनाउने यस्ता कदम कायम रहे उपयुक्त समयका पार्टीका वैधानिक संरचनाबाट पार्टी विरोधी,मुलुकको व्यवस्था र स्थिरता विरोधी, असक्षम, पश्चगामी नेतृत्व र तिनका मतियारहरूलाई पार्टीबाट पदमुक्त गर्ने र वैकल्पिक राजनीतिलाई थप क्षति हुनबाट जोगाउन कठोर कदम लिनुपर्ने आवश्यकता तर्फ पार्टी सदस्य र शुभेच्छुकहरूलाई विनम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहेको वैकल्पिक राजनीतिको मूलबाटो पक्षधरले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।