काठमाडौं– अभिनेता अनुपम खेर मुख्य भूमिकामा रहेको फिल्म ‘द कश्मीर फाइल्स’ले प्रदर्शनमा आएको पहिलो सातामा शानदार कमाई गरेको छ। फिल्म प्रदर्शनमा आएको पहिलो साता यसले करिब १ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
विवेक रञ्जन अग्निहोत्रीको निर्देशनमा बनेको फिल्ममा कश्मीरी पण्डितहरुको विस्थापनको कथालाई समेटिएको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको ओपनिङ त्यत्ति उत्साहजनक नभएपनि फिल्मले विस्तारै व्यापारमा गति लिएको थियो।
बिहीबारसम्म फिल्मले ९८ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ। बिहीबार मात्रैको प्रदर्शनबाट फिल्मले १८ करोड ५ लाख भारतीय रुपैयाँको आम्दानी गरेको थियो। भारतीय फिल्म विश्लेषककाअनुसार शुक्रबारको प्रदर्शनसँगै फिल्मले १ सय करोडभन्दा धेरैको व्यापार गर्नेछ।
फिल्ममा अनुपम खेरसँगै मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत कुमार लगायतका कलाकारको अभिनय रहेको छ। सुरुवातमा ६ सय स्क्रिनबाट सुरु भएको फिल्मको प्रदर्शन हाल ४ हजारभन्दा धेरै स्क्रिनमा पुगेको छ। भारतसँगै फिल्म नेपालमा पनि प्रदर्शनमा आएको छ। आज शुक्रबार फिल्म नेपालमा पनि रिलिज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।