काठमाडौं– कलाकार पल शाहले एक नाबालिगालाई बलात्कार गरेको अभियोग प्रकरणमा अर्का कलाकार (दुर्गेश थापा)ले आर्थिङ बार्गेनिङ गरेको भन्ने विषय आफूलाई थाहा नभएको भन्दै बयान दिएका छन्।
नवलपुर प्रहरीलाई दिएको बयानमा कलाकार थापाले पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिग गायिकालाई सहयोग भने गरेको बताएका छन्।
यस्तो छ दुर्गाबहादुर थापा (दुर्गेश थापा)को बयान
म बिगत १०/१२ बर्षदेखि म्युजिक भिडियो समेतमा काम गर्दै आइरहेको छु । कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पुर्णविक्रम शाह र पीडित नाबालिगसँग चिनजान भएको थियो। म प्राय म्युजिक भीडियो सुटिङको लागि हिँडिरहने गर्छु। म काठमाडौंबाट गत वर्षको चैत ७ गते चितवनको सौराहा भन्ने स्थानमा आएको बेला प्रतिवादी पल शाह तथा पीडित नाबालिगसँग भेट भएको थियो। त्यसतिबेला ‘तामा पित्तल’ गीतको भिडियो सुटिङ सकेर हामी र पीडित समेतको सुटिङ युनीट बेलुका गैँडाकोट रिसोर्टमा गयौं। दिनभरी सुटिङको कामले थाकेको हुँदा म कोठामा गइ सुतेको हो।
पीडित आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन् । काजीश श्रेष्ठ, पल शाह समेतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए। उनीहरु कुन कोठामा सुते मलाई थाहा भएन। अर्को दिन ८ गते बिहान म काम विशेषले काठमाडौं गएको हो।
२०७८ सालको असार महिनामा प्रतिवादी पल शाहको म्यानेजर कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको वारेमा जानकारी गराएकोमा त्यसबारेमा पीडितसँग बुझ्दा मलाई (नाबालिगले) प्रतिवादी पल शाहले विवाह गर्छु भनि फकाइ–फुल्याइ सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जबरजस्ती करणी गरेको भनि बताएकी हुन्। त्यसपछि म, सम्राट चौलागाईं, सरोज ओली, योगेश काजी समेतले हामी न्यायको पक्षमा छौं। तिमीलाई यसले जबरजस्ती करणी गरेको भए कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्र हो। अन्य आर्थिक कुराको बार्गेनिङको बारेमा मलाई केही जानकारी भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।