काठमाडौं- सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाइएको छ।
कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले शुक्रबार दुई बजेका लागि फुलकोर्ट बोलाएका हुन्।
मंसिर १५ गतेदेखि सुरु भएको गोला तानेर पेसी तोकिने प्रकृयालाई 'अटोमेसन' तर्फ लैजाने बारे बैठकमा छलफल हुने जनाइएको छ ।
हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्चका न्यायाधीशरुको पूर्ण बैठकले मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोक्ने निर्णय गरेको थियो। त्यसयता गोला प्रथाबाट पेसी तोकिने गरेको छ।
राणाले अदालतमा विचौलियाको प्रवेश गराएको र पेसी तोक्दा खेलोमेलो गरेको आरोप लगाउँदै न्यायाधीशहरु आन्दोलनमा उत्रिएका थिए। गोला तानेर पेसी तोक्न थालिए पनि राणाभने सहभागी भएका थिएनन्।
गठबन्धन नेतृत्वका सांसदहरुले संसदमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।