काठमाडौं- एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाह (पूर्णविक्रम शाह) दोषी ठहर भएको अवस्थामा १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने भएको छ।
पीडित भनिएकी नाबालिग गायिकाको जन्मदर्ता अनुसार उनी बलात्कार भएको भनिएको समयमा १६ वर्षभन्दा कम देखिएपछि १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने कसूर आकर्षित भएको हो।
जन्मदर्ताको रेकर्ड अनुसार पीडित भनिएकी गायिकाको जन्म २०६२ साउन ३ गते भएको देखिएको र नवलपुरमा बलात्कार भयो भनिएको मितिमा उनी १५ वर्ष ८ महिना ४ दिनको मात्रै भएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
जसकारण शाहविरुद्ध मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा २१९ को उपदफा ३ को (ग) आकर्षित हुने अभियोगपत्रमा उल्लेख गरिएको छ। (ग) मा १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमति मै यौनसम्बन्ध राखे पनि बलात्कार ठहर हुने र त्यस्तो कसूर गर्नेलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।
शाहविरुद्ध बिहीबार जिल्ला अदालत नवलपुरमा मुद्दा दायर भएको छ। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको फाइलको अध्ययन सकेर मुद्दा दर्ता भएको हो।
शाहविरुद्ध बालिकालाई बलात्कार गरेको कसूरमा सजाय हुनुपर्ने मामगसहित मुद्दा दर्ता भएको छ। तर, शाहले भने आफूमाथि लागेको बलात्कार आरोप स्वीकार गरेका छैनन्।
उनले प्रहरीसमक्ष दिएको बयानमा झुटा उजुरी दिएर फसाउन खोजीको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।