काठमाडौं– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको तयारीका लागि सातै प्रदेशमा केन्द्रीय अनुगमन टोली खटाउने भएको छ।
बिहीबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीले सातै प्रदेशको रिपोर्टिङ र त्यहाँ पार्टीको अवस्थाका बारेमा अध्ययन गर्नका लागि केन्द्रीय अनुगमन टोली पठाउन लागेको हो।
‘केन्द्रबाट सातैवटा प्रदेशमा अनुगमन गर्ने टोली पठाइने छ। त्यहाँ टोलीले प्रदेशको रिपोर्टिङ लिएर वास्तविक अवस्था के छ त्यसका बारेमा जानकारी दिनुहुनेछ,’उनले भने,‘टोलीले अहिलेसम्मको अवस्था बुझेर थप कामलाई प्रभावकारी बनाउनका लागि पनि काम गर्नेछ।’
केन्द्रबाट खटिने टोलीले प्रदेश इन्चार्ज, अध्यक्ष र पदाधिकारीलाई सहयोग गर्ने बताइएको छ। ‘सातै प्रदेशबाट अनुगमन पछि रिपोर्टिङ हुनेछ र त्यहाँ पार्टीको अवस्थाका बारेमा जानकारी दिइने छ,’प्रवक्ता खतिवडाले भने।
उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधारा, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झा अनुगमनका लागि खटिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।