काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले लखेट्न नै थाल्यो भने चाहिँ एमालेसँग गठबन्धन गर्न सकिने बताएका छन्।
बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको विषय कांग्रेसको व्यवहारमा भर पर्ने बताए। उनले भने, 'गठबन्धन नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। धेरैलाई प्रधानमन्त्री बनाउने भूमिका मेरो हो। राजनीतिमा असम्भव भन्ने हुँदैन। यो सम्भावनाको खेल पनि हो।'
नेपाली कांग्रेसका केही नेताहरुले माओवादी केन्द्रसँग कुनै हालतमा तालमेल गर्न सकिँदैन भनिरहेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा एमालेसँग गठबन्धन हुन सक्ने संकेत गरेका हुन्। 'केही नेता अतिवादी रुपमा बोलिरहनु भएको छ। हुन त प्रधानमन्त्रीले बोल्न बन्द गर भन्नुभएको छ,' उनले थपे, 'मुख्यत: सभापति शेरबहादुर देउवा प्रम यो गठबन्धनलाई हरहालतमा बचाएर र मिलेरै जानुपर्छ भन्नुभएको छ। त्यसैले मैले भनेको अवस्था आउँछ भन्ने छैन। लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिदैन।'
प्रधानमन्त्री देउवाले बचाएर जानुपर्छ र मिलेरै जानुपर्छ भन्नुभएकाले अहिल्यै एमालेसँग गठबन्धन बन्ने कुरा नसोचिएको बताएका छन्। तालमेल हुँदा पनि सवै ठाउँमा तालमेल हुन्छ भन्ने जरुरी नभएको उल्लेख गरे।
यही अवस्थामा भने एमालेसँग तालमेल हुने सम्भावना नदेखेको बताउँदै थपे, 'माओवादी केन्द्रवाला हामीले सधैं संकटबाट निकास दिन सहज ढंगले छलफल गर्ने र समजादारी गर्ने कोशिस गर्ने गरेका छौं। युद्धलाई शान्तिमा ल्याइएको हो। संविधान बनाउन सहमत गरियो। निर्वाचनतिर देशलाई पनि त्यसरी नै लगियो। एमसीसी पनि त्यसरी नै पास गरियो।'
एमसीसी पास हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र अन्य एमाले नेताहरुसँग गएपनि संवाद तीतो भएको उल्लेख गरे। उनले अनुभव सुनाए, 'देश अप्ठ्यारोमा पर्यो, निकाश दिनुपर्यो भनेर गएका थियौं। देशप्रति चिन्ता देखिएन। १९ पृष्ठ लामो आरोप पत्र र सभामुखलाई कारबाही गरेर आउनुहोस् भन्नुभयो। निषेधात्मक सोच भएकासँग किन कुरा गर्न आइएछ भन्ने महसुस भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।