काठमाडौं– गृहसचिव संयोजक रहेको बढुवा सिफारिस समितिले मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेसँगै डीआईजी बढुवाको पनि बाटो खुलेको छ।
डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजी बढुवामा सिफारिस गरेसँगै रिक्त हुने तीन डीआईजी पदका लागि दर्जन बढी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु तयारीमा लागिसकेका छन्। अब रिक्त हुने डीआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका एसएसपीहरुमध्येबाटै २०७९ चैतमा प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त हुने हुँदा डीआईजी बढुवामा चर्को प्रतिस्पर्धा हुने देखिएको छ।
३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा आउँदो वैशाख १८ गतेबाट चैतसम्मका लागि करिब एक वर्ष अहिलेका एआइजी विश्वराज पोखरेलका ब्याचीहरुमध्ये एक जना आइजीपी बन्नेछन्। त्यसपछि अहिले डीआईजीमा बढुवा हुनेहरु नै आइजीपी बन्ने हुँदा अहिलेको बढुवा निकै पेचिलो बन्ने देखिन्छ। यसरी तीन ब्याचीबीच डीआईजी बढुवाको प्रतिस्पर्धा हुने देखिन्छ।
२०७५ माघ २६ र २०७७ वैशाख ९ मा एसएसपी भएका टोलीबीच मुख्य प्रतिस्पर्धा हुने बताइए पनि उनीहरुभन्दा पछि एसएसपी भएकाहरु समेत डीआईजी बढुवाको खेलमा लागेका छन्।
२०७५ माघ २६ मा १४ जना एसएसपीमा बढुवा भएका थिए। पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौंथोमा श्यामलाल ज्ञवाली बढुवा भएका थिए। त्यसैगरी, सोही बेला क्रमश: रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल बढुवा भएका थिए।
त्यसपछि २०७७ वैशाख ९ मा एसएसपी बढुवा भएकाहरु छन्। त्यतिबेला विष्णुकुमार केसी, दुर्गा सिंह, हृदय थापा, चन्द्रकुवेर खापुङ, कुवेर कडायत, भरतबहादुर बोहरा, केदार ढकाल, सुदीप गिरी, दुर्गा सिंह, किरण राणा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेललगायत बढुवा भएका थिए। उनीहरु सबै डीआईजी बढुवाको तयारीमा छन्।
२०५२ कात्तिकमा इन्स्पेक्टरमा नियुक्ति पाएकामध्ये विष्णुकुमार केसी पहिलो नम्बरमा छन्। एसपीमा अघिल्लो टोलीसँगै बढुवा भएका उनी एसएसपीमा बढुवा हुँदा भने छुटाइएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।