फाइल तस्बिर।
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्वाचनमा तालमेल गर्ने तत्काल कुनै सम्भावना नरहेको बताएका छन्।
प्रेस सेन्टर नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘एमालेसँग तत्काल कुनै तालमेल हुने सम्भावना नै छैन। त्यो प्रवृत्तिसँग हाम्रो तालमेल हुन्न,’ उनले भने, ‘तर, यो भनिरहँदा राजनीतिमा असम्भ्व भन्ने पनि केही हुँदैन।’
उनले नेपाली कांग्रेसको व्यवहारले पनि त्यसमा फरक पर्ने प्रष्ट पारे।
‘हामीले प्रतिगमनविरुद्ध मिलेर गठबन्धन बनाएर अघि बढेका छौं। तर, केही कांग्रेसका नेताहरुले भने माओवादीसँग मिल्नै सकिन्न भनिरहेका छन्,’ प्रचण्डले भने, ‘कांग्रेसले लखेट्नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन।’
उनले एमसीसीको विषयमा छलफल गर्न जाँदा जुन व्यवहार देखियो त्यसले पनि अहिले नै एमालेसँग मिल्न सक्ने अवस्था नरहेको बताए।
‘प्रधानमन्त्री मिलेर जाने कुरामा नै हुनुहुन्छ। तर, हामी आफ्नै बल र अजेन्डामा चुनावमा परिणाम राम्रो ल्याउने र गठबन्धन जोगाउनेतर्फ नै केन्द्रित भएर लाग्छौं,’ उनले भने।
बुटवलमै आयोजित एक कार्यक्रममा बुधबार माओवादी नेता वर्षमान पुनले भने एमालेसँग तालमेल ढोका बन्द भइनसकेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।