काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा यातायात मर्यादित बनाउन १३ सय प्रहरी खटाउने भएको छ।
रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर ट्राफिक व्यवस्थापन कडा गर्ने तयारी गरेको हो।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरेको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक एकाइ तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापनमा कडाइ गर्न बुधबार निर्देशन दिएको छ।
‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थ परक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौं,’ उनले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।