काठमाडौं- गोरखा शहिद लखन गाउँपालिका–८ बुङकोटका ५८ वर्षीय भिमप्रसाद रेग्मीलाई ठक्कर दिएर फरार भएको आरोपमा रात्री बसका एक चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आवद्ध काठमाडौं–पोखरा रुटको ना ५ ख ३०९६ नम्बरका चालक कास्की रुपा गाउँपालिका– ४ स्थायी घर भइ हाल पोखरा महानगरपालिका– ९ पृथ्वीचोक बस्ने ३७ वर्षीय राजकुमार बंशी रहेका छन्।
उनले चलाएको रात्री बसले गत फागुन ३० गते साँझ ५ बजेतिर काठमाडौं नगरपालिका–१६ बालाजु, गंगाहलनजिक सडकखण्डमा रेग्मीलाई ठक्कर दिएर घाइते बनाएको महानगरीय प्रहरी बृत्त, बालाजुले जनाएको छ।
महानगरीय प्रहरी बृत्त, बालाजुबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली तत्काल घटनास्थलमा गएर घाइते रेग्मीलाई उद्धार गरी जनमैत्री अस्पताल, बालाजुमा उपचारका लागि पठाएको थियो।
घाइते रेग्मीको जनमैत्री अस्पतालमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको थियो। फरार सवारी साधनबारे अनुसन्धान गर्दै जाँदा उक्त बस बंशीले चलाएको खुल्न आएको बृत्तले जनाएको छ।
बृत्तका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्की समेतको सहयोगमा कास्की अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पोखरा बाग्लुङ सडकखण्डबाट बंशीलाई बुधबार नियन्त्रणमा लिइएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को सवारी ज्यानसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशमा ५ दिन म्याद अनुमति लिएर बंशीमाथि थप अनुसन्धान भइरहेको बृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।