काठमाडौं- विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग सरकारी टोलीले वार्ता गरेको छ।
अनशन स्थलमा पुगेर काठमडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनिल खनाल र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले गरेको वार्ता सकारात्मक भएको काठमाडौंका प्रजिअ रिजालले जानकारी दिए।
‘वार्ता सकारात्मक भएको छ,’प्रजिअ रिजालले भने, ‘अब फेरि वार्ता गरेर टुंग्याउँछौं।’ गृहमन्त्री बालकृष्ण खाणले बरालसँग वार्ता गरी समस्या समाधान गर्ने पहल गर्न निर्देशन दिएका थिए।
बरालले संसद्बाट पास भएको अमेरिकी सहयोग नियोक (एमसीसी) पूर्ण रूपमा खारेज गर्नुपर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गरिनु पर्ने, प्रदेश नं ३, ४, र ६ लाई भारतसँग व्यापारिक नाका नदिएको कारणले संघीयता पूर्ण रूपले खारेज गर्नुपर्ने, सर्वोच्च अदालतलाई पूर्ण रूपमा तत्काल सुरु गर्नुपर्ने र सर्वोच्च अगाडि महिलामाथित दुर्व्यवहार गर्ने अपशब्द बोल्ने अधिवक्ताहरूलाई कारबाही गर्नुपर्ने माग राखेको थिए। उनका मागमध्य सर्वोच्चको सेवा पूर्ण रुपमा सुचारु भइसकेको छ।
सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने प्रयास गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।