कपिलवस्तु- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफूहरुले नेकपा (एमाले)सँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्।
पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध नेपाली कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताए।
‘सत्ता गठबन्धनका दलहरुबीच मै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन।’ यद्यपि, माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको भनाइ थियो।
‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने। उनले बहुमत स्थानीयतह जितेका कांग्रेस-एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।
तर, माओवादीले जितेका स्थानीयतहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ। कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिकामा माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।