काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिका-१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सिफारिसमा रसिद नकाटिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले भनेको छ, ‘वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका अन्य सिफारिसवापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी रकम हिनामिना गरिएको छ।’
वडाध्यक्ष कुर्मी, वडासचिव राजकुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्तालगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिइ, लिनुपर्ने भन्दा घटी/बढी राजस्व रकम लिइ तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरी दाखिला गर्नुपर्ने राजस्व रकमसमेत दाखिला नगरेको पाइएको आयोगले बताएको छ।
कुर्मी, रफिक अन्सारी, सञ्जयकुमार पटेल र जितेन्द्रकुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा १ लाख दुई हजार ५ सय ८५ हिनामिना गरी राजस्व चुहावट गरेकोले उक्त रकमको दोब्बर जरिवाना मागदाबी गरी मुद्दा दायर गरिएको छ।
वडासचिव अनामिका रौनियारको हकमा १ लाख ३१ हजार ९०, वडासचिव राजकुमार सिंहको हकमा ३२ हजार २३५ बिगो कायम गरी जरिवाना र कारबाही मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।