काठमाडौं– गृहसचिव संयोजक रहेको बढुवा सिफारिस समितिले मंगलबार तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि सिफारिस गर्यो।
सिफारिस सूची अनुसार पहिलो नम्बरमा वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र धानुक रहेका छन्। यो बढुवा सिफारिस प्रकाशित भएसँगै प्रतिस्पर्धामा रहेका अन्य डीआईजीदेखि संगठनकै केही प्रहरी अधिकारीले समेत असन्तुष्ट देखिएका छन्।
बरियताको पहिलो दोस्रो नम्बरका लागि समेत छुटाएर कनिष्ठलाई बढुवा गरेको भन्दै प्रहरीमा असन्तुष्टि छाएको छ। प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीको ब्याची डीआईजीलाई समेत छुटाएर उनीहरूभन्दा जुनियरलाई बढुवाका लागि सिफारिस गरिएको थियो। वरीयताअनुसार पहिलो नम्बरका आईजीका ब्याची घनश्याम अर्याल, दोस्रो नम्बरमा आईजीकै ब्याची प्रकाशजंग कार्की थिए। तर, उनीहरूलाई छुटाएर जुनियर टोलीबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरिएको छ।
यी दुईसँगै आईजीको ब्याचीबाट तेस्रो नम्बरमा रहेका वसन्त पन्त भने बढुवामा पर्न सफल भएका छन्। आईजीकै ब्याची चौथो नम्बरका ईश्वरबाबु कार्की भने बढुवामा छुटाइए। उनीभन्दा पछिका र जुनियर ब्याचका सिंह र धानुक बढुवाको सिफारिसमा परे। यसरी राम्रो र सिनियर भन्दा पनि शक्तिकेन्द्र निकटलाई मात्रै एआईजीमा बढुवा गरिएको भन्दै संगठन प्रमुखदेखि प्रतिस्पर्धीसमेत असन्तुष्टि भएका छन्।
आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण आईजी थापा क्षेत्रीसँगै उनकै ब्याची अर्याल, कार्कीद्वय, पन्त अवकाशमा जाँदैछन्। अवकाशमा जान डेढ महिनामात्रै बाँकी रहेकाले उनीहरू बढुवामा छुटेको तर्क एक तप्काले गरे पनि त्यो सत्य छैन। किनकि, प्रधानमन्त्री देउवाकै गृह जिल्लाकै पन्त जिल्लाबासीको साइनो जोड्दै बढुवामा परेका छन्। जबकि, उनी आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्।
डेढ महिना बाँकी रहेकाले बढुवामा छुटेको भन्ने तर्क गर्नेलाई डीआईजी ईश्वरबाबु कार्कीले सामाजिक सञ्जाल ट्वीटरमै जवाफ फर्काएका छन्। ‘उच्च तहमा पुग्न ३० वर्षसम्म गरेको सरकारी सेवालाई डेढ महिनामात्र बाँकी छ भनेर वञ्चित गर्न पनि त नमिल्ला नि?’ कार्कीको प्रश्न छ।
अहिलेको बढुवामा शक्तिकेन्द्र निकटका मात्रै बढुवा भएको प्रतिस्पर्धी डीआईजीहरू बताउँछन्। एक त दरबन्दी पनि संगठनलाई आवश्यकता भएर भन्दा व्यक्तिको आवश्यकतामा थप भएको उनीहरूको आरोप छ। बढुवा पनि सोही अनुसार गरिएको उनीहरूको बुझाइ छ। पन्त प्रधानमन्त्रीको गृहजिल्लाबासीकै कारण बढुवामा परे भने सिंहलाई पनि प्रधानमन्त्रीको साथ रहेको जानकारहरू बताउँछन्।
धानुक भने अर्थमन्त्री जनार्दन शर्मा निकट भएकै कारण बढुवामा पर्न सफल भएका थिए। जबकि, कार्यसम्पादनमा अब्बल रहेको भन्दै आईजी थापा क्षेत्रीले डीआईजी उत्तमराज सुवेदीलाई बढुवामा नछुटाउन आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशको डीआईजी हुँदा सुवेदीले बैतडीको दोगडा केदगार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागिरथी भट्टको बलात्कार र हत्यारा पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको र त्यसले प्रहरीको गुमेको छवि उठ्नसमेत मद्दत पुगेको भन्दै आईजी थापा क्षेत्रीले सुवेदी बढुवामा छुट्न नहुने अडान राखेका थिए। तर त्यसमा सहमत नभएपछि आईजी थापा क्षेत्रीसमेत असन्तुष्ट भएको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
यो बढुवासँगै आगामी वैशाख १८ गतेबाट रिक्त हुने आईजीको बढुवा समेत थप पेचिलो बन्ने संकेत देखिएको छ। यसअघिसम्म विश्वराज पोखरेल र सहकुल थापा मात्रै आईजीको दाबेदार भएकोमा अब त्यो रेसमा सिंह र धानुक पनि मिसिएका छन्। त्यसमाथि चुनावको मुखमा आईजी बढुवा गर्नुपर्ने भएकाले पनि आईजीको बढुवा थप पेचिलो बन्ने आकलन गर्न सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।