काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको भण्डाफोर गर्ने बताएका छन्। बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले सम्बोधन गरेका थिए।
बैठकमा सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनसँग महाभियोग प्रस्ताव पारित गर्न आफ्नो दुई तिहाइ छैन र पास हुँदैन भन्ने जान्दाजान्दै हठात् रुपमा ल्याएको बताएका थिए। 'त्यो ल्याउनुको दुराशय के हो भने, जसरी भए पनि अदालतलाई गिजोल्ने र सम्मानित सर्वोच्च अदालतलाई गुटबन्दीको शिकार बनाउने र अदालतलाई सधैंभरि अस्थिरतामा रुमल्याउन चाहने दुराशयको कारणले आएको छ,' ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले बताए।
सत्ता गठबन्धनले महाभियोग प्रस्तावलाई जतिसक्यो लिंगरिङ गर्ने, जतिसक्यो एकदमै ढिलो गर्ने र त्यसलाई पास वा फेल हुनका लागि कुनै अवसरै प्रदान नगर्ने गरी अगाडि बढेको ओलीको भनाइ थियो। 'यस्तो बेलामा नेकपा एमालेले यसलाई नंग्याउने, भन्डाफोर गर्ने काम गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ,' भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।