काठमाडौं– मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्।
प्रतिनिधि सभाको दशौं र राष्ट्रिय सभाको ११औं अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य भएको छ।
प्रतिनिधि सभाको १०औं अधिवेशनमा महत्वपूर्ण विधेयकहरु पेस हुन नपाए पनि चर्चासँगै विवादित बनेको अमेरिकी सहायता सम्झौता (एमसीसी) भने अनुमोदन भयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद्का दुवै सदन प्रभावित भए।
यो अधिवेशनमा प्रतिनिधि सभाका ११ वटा बैठक बसे पनि राष्ट्रिय सभाका भने दुई वटा मात्रै बैठक बसे। अधिवेशन सुरु भएदेखि अन्त्य हुँदाको ३ महिनाको अवधिसम्म मंसिर २८ र पुस ५ गते मात्रै राष्ट्रिय सभाको बैठक बस्यो।
मंसिर २८ गतेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै एक मिनेट मौन धारण गराए। लगत्तै एमालेका सांसद्हरु यथास्थानमा उभिएका थिए। अध्यक्ष तिमिल्सिनाले एमालेका सांसद् खिमलाल भट्टराईलाई बोल्ने समय थिए। उनले सभामुखको विषयलाई उठाए।
'वास्तवमा सरकार र सभामुख यो संसद चलाउन चाहिराख्नु भएको छैन। संसद् चलाउन चाहने हो भनेदेखि निश्चित रूपमा दलको, दलीय व्यवस्थाको मान्यताअनुरूप अगाडि बढ्नुपर्ने हो। गणतन्त्र र लोकतन्त्रको मूल्यअनुसार संसद् चलाउनपर्ने हो,सरकार चलाउनु पर्ने हो। तर आज सरकारको ध्यान त्यसतर्फ छैन,सभामुखको ध्यान त्यसतर्फ छैन। दलले कारबाही गरेका सांसदहरूलाई, गैरसांसदहरूलाई राखेर संसद् चलाउने चेष्टा गरिएको छ। जुन कुरा यो लोकतन्त्रको मान्यता र मूल्यअनुरूप छैन,हाम्रो संविधानको प्रावधानअनुरूप छैन, संविधानको खिलापमा जान खोजिएको छ,लोकतन्त्रको खिलापमा जान खोजिएको छ र यो हामीले जुन प्रणाली स्थापित गरेका छौँ, त्यसको खिलापमा जाने कोसिस गरिएको छ। त्यसको विरुद्धमा हामी खडा हुन बाध्य भइराखेका छौँ। त्यसकारणले यो सदन यस रूपमा चल्न सक्दैन', उनको भनाइ थियो।
अध्यक्षले अधिवेशनको पहिलो दिन शुभकामना आदानप्रदान गर्नको लागि आग्रह गर्छन्। तर एमालेका सांसद्हरुले उभिएर विरोध पनि जारी राख्छन्। त्यसपछि उनले केही अध्यादेशहरुलाई सभा सक्षम पेस गर्न समय उपलब्ध गराउँछन्। अर्को बैठक पुस ५ गतेका तोकेर सो बैठक स्थगित हुन्छ।
पुस ५ गतेको बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु उभिन्छन्। अध्यक्षले एमालेका सांसद् देवेन्द्र दाहाललाई बोल्नका लागि समय उपलब्ध गराउँछन्। उनी भन्छन्,'सम्माननीय अध्यक्ष महोदय, हामीले यो संसदको दशौँ अधिवेशनमा जुन कुराहरू उठाएका थियौँ,ती कुराहरू यथावत् रहेका छन्। त्यतिबेला संसद् अवरुद्ध गर्दा जुन कुराहरू उठाएका थियौँ ती कुराहरू यथावत् रहेका छन्। ती कुनै कुराहरू सम्बोधन भएका छैनन्,यथावत् छन्। हाम्रो पार्टीले कारबाही गरेका सांसदहरू प्रतिनिधि सभामा अहिले पनि सांसदको रूपमै उपस्थित भएका छन्। यो देशको प्रमुख पार्टी, सबैभन्दा ठूलो पार्टी नेकपा एमालेले के भनिरहेको छ? त्यस बारेमा न त यो सरकारले सुनेको छ, न त प्रतिनिधि सभाका सभामुखले नै ध्यान दिएको अवस्था छ। यी सम्बन्धित कुनै पनि पक्षले सुनेको नसुनै गर्ने र समय गुजार्ने काम मात्रै गरिरहेको अवस्था छ। हामीलाई आश्चर्य लागेको छ।'
त्यस दिनको बैठक अर्को सूचनाद्वारा तोकिने भन्दै स्थगित भयो। तर त्यसपछि बैठक बसेन। अर्थात् तीन महिनाभन्दा बढी समय चलेको अधिवेशनमा जम्मा दुई वटा बैठक मात्रै बस्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।