काठमाडौं– नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
पहिलो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त रहेका छन् भने दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहेका छन्। बढुवा सिफारिसको तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्र बहादुर धानुक रहेका छन्।
सरकारले केही दिन अघि नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो।
नेपाल प्रहरीमा थपिएको तीनजना एआईजीको दरबन्दीसहित एआईजीको संख्या ८ पुगेको छ। अहिले प्राविधिक सहित ६ जना एआइजी कार्यरत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।