मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक
काठमाडौं– स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माण गर्न नेकपा एमालेले पार्टी कमिटीका बैठकहरु आह्वान गरेको छ। मंगलबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो।
नेकपा एमालेका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सचिवालयको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। ‘पार्टीको १०औं राष्ट्रिय महाधिवेशन पछिको राजनीतिक परिस्थिति लगायतका विषय समेटेर अध्यक्षले प्रतिवेदन पेस गर्नुहुन्छ,’ गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको छ।’ बैठकमा पार्टी महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय, सचिवालय, पार्टीका विभाग र निकायका बारेमा रिपोर्टिङ गर्ने कार्यसूची राखिएको छ।
गुरुङका अनुसार पार्टी कमिटीका बैठक मुख्यत: स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर छलफल हुनेछन्।
‘उम्मेदवारको सिफारिसको विधि र प्रक्रियाका बारेमा पनि बैठकले निर्णय गर्नेछ,’ गुरुङले भने, ‘वडा अध्यक्ष र सदस्यको हकमा जिल्ला कमिटीले नै निर्णय गर्नेछ।’
गुरुङका अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको हकमा जिल्ला कमिटीले सिफारिस गरेर प्रदेश कमिटीले निर्णय गर्नेछ भने महानगरपालिकाको प्रमुख र उपप्रमुखका सम्बन्धमा जिल्ला र प्रदेश कमिटीको सिफारिस अनुसार केन्द्रले निर्णय गर्नेछ।
‘उम्मेदवार छनोटको मापदण्डका विषयमा आगामी केन्द्रीय कमिटीले नै तय गर्नेछ,’ उनले भने, ‘बैठक मुलभुत रुपमा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रित हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।