काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर पार्टी निकट संगठन निर्माण गरेको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपा निकट भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन (भूतपूर्व सैनिक परिषद्)को घोषणा गरिएको छ।
परिषद् घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट 'कोर्स करेक्सन'गरिनुपर्ने बताए।
भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता रहेको लिङ्देनको भनाइ थियो। नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरु देशभक्त, राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताए।
ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भइ तागत निर्माण गर्नुपर्ने लिङ्देनले उल्लेख गरे। 'राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत क्रियाशील भइरहेको छ,' लिङ्देनले भने, 'प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ, आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरौं।'
राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भुतपुर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ। परिषदको सह–अध्यक्षमा अवकाश प्राप्त प्रमुख सेनानी डिबि थापालाई चयन गरिएको छ। यस्तै, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरु तोकिएको छ।
प्रदेश १ मा अवकाश प्राप्त प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा अवकाश प्राप्त प्रमुख सेनानी रामबहादुर थापा, बागमती प्रदेशमा अवकाश प्राप्त प्रमुख सेनानी लवराज थापा मगर, गण्डकी प्रदेशमा अवकाश प्राप्त प्रमुख सेनानी रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा अवकाश प्राप्त सेनानी ईश्वरी प्रसाद पाण्डे, सुदुर पश्चिम प्रदेशमा अवकाश प्राप्त प्रमुख सेनानी इश्वर थापा इञ्चार्ज तोकिएका छन्।
यसैगरी सचिवमा अवकाश प्राप्त क्याप्टेन (सहसेनानी) केवेन्द्र जङ्ग गुरुङ, अवकाश प्राप्त प्रमुख सेनानी सानुराम कटवाल, अवकाश प्राप्त सुक सुवर्ण रोक्का, अवकाश प्राप्त सुक तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा अवकाश प्राप्त सुक विष्णु बहादुर गिरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।