काठमाडौं– साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा गरिदिन सरकारले आग्रह गरेको छ।
नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले उनीहरूलाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गरे।
वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन र विवेक दाहाललाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
उक्त भेटवार्तापछि दुई मन्त्रीले सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ‘जेनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर समेत गरे। मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान भएको थियो।
नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले बाटो खोल्ने छ।
साउदले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटहरुमा नेपाल–साउदी अरेबिया द्विपक्षीय सहकार्यका विविध पक्षबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजकै दिन सन् १९७८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
प्रधानमन्त्री देउवासँग विदेशमन्त्री साउदले सिंहदरबारमा गरेको भेटमा आपसी सहयोग अझ बलियो रुपमा लैजाने प्रतिवद्धता व्यक्त गरे।
प्रधानमन्त्री देउवाले नेपाललाई साउदी अरेबियाले दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए भने साउदीका विदेशमन्त्री फैजलले नेपालका श्रमिकले साउदीको विकासमा दिएको योगदानको उच्च मूल्यांकन हुने बताए।
साउदी समकक्षीलाई परराष्ट्रमन्त्री खड्काले होटल मेरियटमा दिवाभोज दिएका छन्। विदेशमन्त्री फैजल मंगलबारै दिउँसो सवा ३ बजे बंगलादेश प्रस्थान गर्ने छन्।
नेपालको औपचारिक भ्रमणका लागि २३ सदस्यीय टोलीको नेतृत्व गर्दै साउदीका राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौं आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।