काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गर्ने भएको छ। जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी निवेदन दिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार जजिराले दैनिक एक उडान गर्नेगरी निवेदन दिएको छ। जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ। जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ।
हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ।
गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने प्राधिकरणको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।