काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्नेक्रममा महासचिव वैद्यले हरेक दृष्टिले स्थानीय निर्वाचन उपयोग गर्ने सार्थक नदेखिएको समेत प्रष्ट पारेका छन्।
‘स्थानीय चुनावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको छ। स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गएको छ,’ वैद्यले भनेका छन् ‘नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको छ। अहिले संसद्मा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थिति छ।’
एमसीसी पारितको विरोधको भण्डाफोर गर्दै स्थानीय निर्वाचनसमेत बहिष्कार गरिने वैद्यले बताएका छन्। ‘निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।