काठमाडौं– डाक्टर जोहान लवरेन्स नाम गरेको ह्वाट्एपबाट एक व्यक्तिलाई एउटा मेसेज आयो। जहाँ लेखिएको थियो–तपाईंलाई सुनको सिक्री र ९० लाखको चिट्ठा उपहार परेको छ।
यसरी फेसबुक र ह्वाट्एपबाट समेत विश्वास दिलाउने किसिमका मेसेज आएपछि काठमाडौंमै रहेका एक व्यक्तिले लवरेन्सलाई विश्वास गर्न थाले। लवरेन्सले आफू विदेशी नागरिक भएको बताएका थिए। लवरेन्सले नै २ लाख पाउण्डको सुटकेससमेत पार्सल पठाएको भनि मेसेज गरेका थिए। उक्त चिट्ठा र पार्सल लिन ट्याक्सवापतको रकम तिर्नुपर्ने लवरेन्सको भनाइ थियो।
पार्सल पठाएको जनाउने म्यासेज पठाएको केही समयमै प्रतापसिंह राना नाम बताउने व्यक्तिले चिट्ठा परेको भनिएका व्यक्तिलाई ह्वाट्सएपमै फोन गर्दै ट्याक्सवापतको २९ लाख ४० हजार रुपैयाँ आइएमई गर्न भने। त्यसपछि चिट्ठा परेको भनिएका व्यक्तिले प्रतापले भनेअनुसार नै गान्दीप गौतमको नाममा २९ लाख ४० हजार रुपैयाँ पठाए।
त्यसपछि उनले चिट्ठा तथा पार्सल पाउनुको साटो व्यक्ति नै सम्पर्कबिहिन भए। अनलाइनमार्फत् चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोहको पन्जामा ती व्यक्ति परिसकेका थिए। तर, उनले त्यो कुरा थाहा पाएनन्।
ह्वाट्सएपमै आएको म्यासेजमा विश्वास गर्दा उनको २९ लाख ४० हजार रुपैयाँ ठगि भएको थियो। त्यसपछि उनले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए।
उनको उजुरी पछि काभ्रेपलाञ्चोक मन्डनदेउपुर नगरपालिका–४ घर भई भक्तपुर थिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई सोमबार पक्राउ गरिएको महाशाखाका एसएसपी वसन्त कुँवरले बताए।
गौतमको खातामा पीडित भनिएका व्यक्तिले रकम जम्मा गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।